साउन २० गतेभित्र भक्तपुरमा राखिएका तारहरू व्यवस्थित गर्न निर्देशन

 २०७९ साउन १२ गते, बिहीबार

साउन २७ देखि सुरु हुने सापारु (गाईजात्रा) पर्वलाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न भक्तपुरको गाईजात्रा प्रदक्षिणा मार्गमा रहेका विद्युत, टेलिफोन, इन्टरनेट र केबुल नेटवर्कका तारहरु व्यवस्थित गर्ने विषयमा बिहीबार सरोकारवालाहरुको बैठक बसेको छ ।

 भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सो बैठकले भक्तपुरको सापारु पर्वलाई व्यवस्थित र मर्र्यादित रुपमा सञ्चालन गर्न सरोकारवाला सबैलाई गाईजात्रा प्रदक्षिणा मार्ग र महत्वपुर्ण चोक तथा सडकहरूमा अस्तव्यस्त रुपमा राखिएका तारहरू यही २०७९ साउन २० गतेभित्र सम्बन्धित पक्षले आ–आफ्ना तारहरू व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

 भक्तपुर नगरमा अस्तव्यस्त राखिएका तारहरूको व्यवस्थापनमा आवश्यक समन्वय तथा अनुगमन कार्य गर्न भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वको संयोजकत्वमा सात सदस्यीय समिति गठन गर्ने निर्णय गर्यो ।

 उक्त बैठकले साउन २० गतेभित्र निर्णय कार्यान्वयन नभए नगरपालिकाले नै अस्तव्यस्त तारहरू हटाउने र त्यस क्रममा हुने खर्च तथा जरिवाना सम्बन्धित पक्षबाट असुल उपर गर्ने निर्णय गरियो ।

 बैठकले गाईजात्रा अवधिभर लोडसेडिङ नगर्न नेपाल विद्युत प्राधिकरणसँग अनुुरोध गर्ने र गाईजात्रा पर्वमा प्रदर्शन गरिने, घिन्ताङघिसी नाच तथा सांस्कृतिक प्रदर्शनीहरू देश-विदेशका सबै नागरिकले सहज ढंगबाट अवलोकन गर्न पाउने सुविधाको लागि टेलिभिजन, सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारणको व्यवस्था गर्न सबैलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

साभार : भक्तपुर नगरपालिका फेसबुक पेज 




Categories:
Similar Videos

0 comments: